Thursday 19 April 2012

माओवादीले यति धेरै हतियार कहाँ लुकायो त?????

काठमाडौं 
माओवादी लडाकुहरु शिविरमा पसेपछि दशवर्षे जनयुद्धका दौरान तिनले प्रयोग गरेका केही हतियार अनमिनको रोहवरमा कन्टेनरमा थन्क्याइए । ती कन्टेनर अहिले खोलेर हेर्दा केही दर्जन थान हतियार गायब भएको पाइएको छ । माओवादीले कन्टेनरमा राखेका हतियार युद्धकालमा सेना र प्रहरीबाट खोसिएका हुन् । तर, गाउँघरबाट बटुलेका भरुवा बन्दुक, जमिन्दारबाट खोसिएका टुटु राइफल र माओवादी स्वयंले भारतबा
खरिद गरेका एके ४७ लगायत ६ सय र सेना–प्रहरीबाटै उछिट्याइएका आठ सय ११ थान कहाँ छन् भन्ने कुराको चाहि“ अझै पत्तो छैन ।
माओवादी अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग कुनैबेला भनेका थिए, ‘गिरिजाबाबुले पूरै हतियार नबुझाउनुहोला । सात सालमा हामीले पनि त्यसै गरेको हो, तपाईंहरु पनि त्यसै गर्नुहोला भन्नुभएको थियो ।’ त्यसो त लडाकुले युद्धकालमा प्रयोग गरेका हतियार कन्टेनरमा राख्ने बेला कार्यकर्ताले हतियार यसरी कन्टेनरमा राख्नुहुँदैन भनेर आवाज उठाउँदा बन्द कोठाको प्रशिक्षणमा प्रचण्ड भन्ने गर्थे, ‘हामी कहाँ त्यति बेवकुफ छौ“ र हतियार थन्क्याउन ? ती कन्टेनरमा राखेका त काम नलाग्ने हतियार मात्र हुन् । जनसेनाको ‘कोर’ टिम वाइसिएलमा छ भने हाम्रा असली हतियार जति बाहिरै छन् ।’ सेना समायोजनको एउटा अध्याय सकिए पनि नदेखाइएका र ‘कतै लुकाइएका’ हतियारबारे भने अहिले पुनः चासो व्यक्त गर्न थालिएको छ । यसअघि पनि माओवादीले खोसेका हतियारको संख्या भनेर सेना र पुलिसले दिएको तथ्यांकसँग माओवादीले कन्टेनरमा बुझाएको हतियारको संख्या नमिलेपछि यसबारे निकै चर्चा चलेको थियो ।
प्रचण्डले सेनाको दाबीमा नपुग हतियार खोलाले बगाएको भनेर हावादारी स्पष्टीकरण दिएपछि त्यसबेला हतियारसम्बन्धी चर्चा सेलाएको हो । यसरी गणनामा नआएका ती हतियार झिकेर वैद्यपक्षले आफूतिर सोझ्याउने त होइन भन्ने शंकाले प्रचण्डले हठात् निर्णय गरेर हिजो आफ्नै लागि सेनासँग लडेका माओवादी लडाकुहरुलाई तिनै सेना र प्रहरीको बलले नियन्त्रणमा राखेका छन् । नेपाली सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विश्लेषणअनुसार माओवादीले केही हतियार खाडलमा गाडेर राखेको छ । उनीहरुको के अनुमान छ भने यो एक महिनाको बीचमा केही हतियार झिकिएको छ । भरुवाबाहेक ‘मिलिटरी भर्सन’का र विदेशबाट ल्याइएका केही हतियार रोल्पा, संखुवासभा, झापा, काठमाडौंको रिङ वरपरको क्षेत्र र सुदूरपश्चिममा लुकाएर राखिएको छ । माओवादीले सेनाबाट लगेका कतिपय हतियार पनि बुझाएकै छैन । अहिले त्यही हतियार प्रचण्ड र प्रधानमन्त्री बाबुरामका निम्ति व्यक्तिगत सुरक्षामा खतराको कारक बनिरहेका छन् । माओवादीले हतियार र लडाकुबारे गम्भीर भएर नसोचे पनि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले गृहमन्त्री हुँदा भनेका थिए, ‘माओवादीका लागि यो जनसेना बाघको सवारी हुनेछ । लामो समय चढेर दौडन पनि नसकिने, रोकेर झरौं त आफैंलाई खाइदिने ।’ उन्नाइस हजारको संख्यामा पाँच वर्षसम्म शिविरमा बसेर अहिले घर फर्केका १५ हजार सेना र हिजो अनमिनबाट लुकाएर राखेको हतियार वास्तवमा नै माओवादी संस्थापन पक्षका लागि डरलाग्दो बाघ र त्यसका खतरनाक पञ्जा बनेका छन् ।
युद्धकालमा माओवादीले नेपाली सेनाबाट विभिन्न प्रकारका ७ सय ९६ र सशस्त्र प्रहरीबाट २ सय ४६ थान हतियार लुटेर लगेको थियो । सबैभन्दा बढी हतियार भने उनीहरुले प्रहरीबाट लुटेका थिए । प्रहरीबाट जम्मा ३ हजार २ सय २३ थान हतियार माओवादीले कब्जा गरेका थिए, जसमा १ सय ४९ थान रिभोल्वर, २ सय ८३ थान चाइनिज पेस्तोल, २ सय ७६ थान म्याग्नम, २ सय २४ थान सटगन, ४२ थान हर्नेट र २ हजार २ सय ४९ थान थ्रि टु थ्रि राइफल छन् । यसरी तीनैवटा सरकारी फौजबाट मात्र माओवादीले जम्मा ४ हजार २ सय ६६ थान हतियार लगेका थिए । तर, उनीहरुले विभिन्न शिविरका कन्टेनरमा अनमिनलाई साक्षी राखेर ३ हजार ४ सय ५५ थान हतियार मात्र बुझाए । सोझो हिसाबले पनि माओवादीले लुकाएको हतियारको संख्या ८ सय ११ हुन्छ । त्यसमाथि कन्टेनरमा राख्दा ३ हजार ४ सय ५५ थान भए पनि अहिले खोल्दा ३ हजार ४ सय २ थान मात्र हतियार फेला परेका छन् । कन्टेनरमा राखेपछि माओवादीले लुकाएका ५३ थान हतियारसहित जम्मा ८ सय ६४ थान हतियार त अहिले पनि माओवादीसँगै छ । यसमा जमिन्दारबाट कब्जा गरिएका र माओवादी स्वयंले विदेशबाट भिœयाएकाहरुको संख्या जोडिएको छैन ।
अनमिनको विवरणअनुसार इलाममा राखिएका ३ सय ५८ थान हतियारमध्ये हिजो साँझसम्मको विवरणअनुसार ३ सय ४४ थान मात्र हाल शिविर नियन्त्रणमा लिएको नेपाली सेनाको हात लागेको छ । बाँकी १४ थानको पत्तो छैन । सिन्धुलीको हकमा भने कुनै गुनासो छैन किनकि त्यहाँ पूरै अर्थात् पहिले कन्टेनरमा राखिएका २ सय ४१ थान नै सेनालाई बुझाइएको छ । चितवनमा भने एक थान हतियार हराएको छ, जहाँ ६ सय ८९ थान दाखिला गरिएको थियो । नवलपरासीमा पनि कुनै कैफियत छैन, त्यहाँबाट ६ सय ३० थान सेनाले बुझेको छ । कैलालीको शिविरबाट ४ सय २२ थान हतियार सेनालाई बुझाइयो भने रोल्पाबाट ४ सय ८१ थान मात्र हतियार प्राप्त भयो, जहाँ ३ थान पहिलेको गणनाअनुसार अपुग छ । उता सुर्खेतमा पनि ३ थान हतियारको हिसाब छैन, त्यहाँ ५ सय ३७ थान अनमिनले बुझेको थियो । यता काठमाडौंमा नेताको सुरक्षार्थ भनी कम हतियार बुझाइएको थियो । त्यहीँबाट सबैभन्दा बढी अर्थात् ३२ थान हतियार हराएको छ । काठमाडौंमा ९४ थान रेकर्ड गराइएकोमा अहिले ६२ थान मात्र दाखिला गरिएको छ । यसरी कूल ३ हजार ४ सय ५५ थान हतियार अनमिनको रोहवरमा कन्टेनरमा राखिएकोमा ३ हजार ४ सय २ वटा मात्र सेनाले पायो, बाँकी ५३ थान कता हरायो ?

2 comments: