Friday, 20 April 2012

२४ घण्टाको लागी सद्दामको भान्छामा नेपाली

सद्दाम हुसेनको नाम सुन्नेबित्तिकै हाम्रा कान ठाड्ठाडा हुन्छन्। सद्दामको क्रुरताको वर्णन कानै पाक्ने गरी सुनेका छौँ हामीले। व्यक्तिगत रूपमा सद्दाम कस्ता थिए? त्यो त उनलाई भोग्ने र झेल्नेलाई मात्र थाहा होला। विश्वले जानेका सद्दाम त एक खुँखार तानाशाह थिए। हालै सुर्खेतको यात्राबाट फर्किँदा मैले एकजना नेपाली सद्दाम हुसेनको सेफ भएको कुरा
सुनेँ। म ती व्यक्तिलाई भेट्न आतुर भएँ। उनी लमहीमा बस्थे। 
नेपालगञ्जबाट हामी लमही पुग्दा रातको नौ बजेको थियो। रातको नौ बजे नै लमही सुनसान भइसकेको थियो। हामीले लमहीमा नै बस्ने निधो गरिसकेका थियौँ, लमहीको 'होटल लालकिरण'मा। लमहीको विस्तारित बजारमा यो सानो होटलको आफ्नै कथा छ। हामीलाई होटलमा
आत्मीय आतिथ्यका साथ स्वागत गरियो। मैले लालकिरणको बारेमा मेरो सम्पादक र केही साथीबाट धेरै नै प्रशंसा सुनेको थिएँ। त्यसमाथि सद्दाम हुसेनको सेफले पकाएको परिकार खान पाइने कल्पनाले नै मन फुरुङ्ग थियो।
००००
होटल लालकिरण लमहीको मुख्य सडकबाट केही भित्र पर्छ। यो होटलको प्रख्यातिले गर्दा यसलाई पहिल्याउन खासै मुस्किल पर्दैन। लमहीमा लालकिरण खुलेको मात्र आठ वर्ष भयो। तर इतिहास समयको मोहताज हुँदैन। नेपालको विकट ठाउँ अर्घाखाँचीमा जन्मिएर, भारतको लुधियानामा खाई-खेली गरी, इराकको बगदादमा सद्दामको दरबारसम्म पुग्नु कुनै पनि मानिसका लागि गौरवको इतिहास नै त हो। त्यसैले त उनको इतिहासको भेउ पाउनेहरू उनलाई अहिले पनि 'ए इराकी!' भन्छन्।
पन्ध्र वर्षको काँचो उमेरमा आफ्नो र परिवारको गुजारा चलाउन कामको खोजीमा भारत पुगेका 'इराकी' रामप्रसाद पोखरेललाई आफ्नो जीवनप्रति रत्तिभर पनि गुनासो छैन। उनी भन्छन्, 'मलाई विदेशी माटोले सच्चा नेपाली हुन सिकायो।' 
५६ वसन्त पार गरीसकेका पोखरेललाई अहिले अलिकति बुढ्यौलीले छुन खोजेको छ। उनका अगाडिका केही दाँत मात्र बाँकी छन्। गालामा चाउरी पर्न थालेको छ। शरिरमा फूर्ति भने घटेको छैन। अहिले अलिक भुँडी लागे पनि, परिआए अझै दुईचार जना पछारुँला भन्ने आँट छ।
००००

अन्य दिन भए सुतिसक्ने उनी। त्यस दिन भने हाम्रो पर्खाइमा थिए। हाम्रो भन्दा पनि सम्पादक किशोर नेपालको पर्खाइमा थिए। किशोर सरले पनि रामप्रसादलाई भेटे पछि हँसिलो मुद्रामा भन्नुभयो, 'बुवा नमस्कार!' उनी सरभन्दा ४/५ वर्ष नै कान्छो थिए। तर, किशोर सरले लगाउनु भएको साइनो त्यही रहेछ उनीसँग। उनले नमस्कार फर्काएर सोधे, 'सर, धेरै पछि आउनु भयो? सन्चै हुनुहुन्छ?' किशोर सरले हामीलाई देखाउँदै भन्नुभयो, 'यी केटाहरूसँग अझै हिँड्न सक्छु। बुवा, यी केटाहरूलाई तपाईँको हातले पकाएको बदिया खुवाउनुस है।' रामप्रसादसँग यो छोटो-मिठो संवादपछि मलाई किशोर सरले भन्नुभयो, 'स्वरूप, बूढाको इन्टरभ्यू गर है। राम्रो हुन्छ।' किशोर सर आफैँ निकै उत्साहित हुनुहुन्थ्यो। त्यसैले मैले हुन्छ भने। नाइँ भन्ने त प्रश्नै आएन।
लन्ठ्याङ-मन्ठ्याङ गर्दा दस बजेको पत्तै भएन। रामप्रसाद र उनका छोरा विष्णु हातमा केही प्लेट लिएर कोठाभित्र छिरे। त्यो बदियाको मासु थियो। लमही विशेष। मेरो र रामप्रसादजीको सेतु बनिदिनुभयो किशोर सर र भन्नुभयो, 'यो मेरो केटा हो। यो तपाईँसँग भोली बिहान केही कुरा गर्छु भन्छ। तपाईँको रामकहानी बताइदिनुस है।' उनले खिस्स हाँस्दै सहमति दिए। त्यसपछि हामीले बदियाको मासुसँग भात खायौँ। बदियाको स्वाद वास्तवमै अद्वितिय थियो।
बिहान उठ्ने बित्तिकै हिँड्न हतारो भयो। मैले रामप्रसादजीसँग कुरा गर्ने मौका नै पाइनँ। बिहानको समय, उनी पनि चूलो चौकोमा व्यस्त थिए। फेरि छिट्टै भेट्ने वाचा गरेर म त्यहाँबाट बिदा भएँ। बाटोभर मन खिन्न थियो।
....
सच्चा मनले सोचेको कुरा पूरा हुँदोरहेछ। काठमाडौँ आए लगत्तै फेरी पश्चिम दैलेख जानुपर्ने भयो। कहिल्यै नदेखेको ठाउँ पुगिने भयो भनेर मन फुरुंग थियो। त्योभन्दा पनि मलाई सद्दामको सेफको कुरा सुन्नु थियो। हामी जाँदा लालकिरणमा छिर्‍यौँ, खाना खायौँ र हिँड्यौँ। त्यो छोटो बसाइँमा भान्छामा दाउरा चिरिरहेका रामप्रसादजीलाई भेटेर मैले भनेको थिएँ, 'बुवा, म फर्केर आएपछि कुरा गर्ने है।' उनले हल्लिएर झर्न आँटेको दाँत हल्लाउँदै 'हुन्छ, भइ हाल्छ नि!' भने।
हामी दैलेख पुगेको सात दिनपछि पुनः त्यहाँ खाना खान पुग्यौँ। खाना खाइसकेपछि म रामप्रसादजीसँग होटलको माथिल्लो तल्लामा रहेको सभाकक्षमा गफिन थालेँ। उनी अन्तरवार्ता दिन ठाँटिएर उपस्थित भएका थिए।
००००
उनलाई आफ्नो बाबुको झ-झल्को मात्र छ। सानोमै बाबु गुमाएका उनी पन्ध्र वर्षको उमेरमा परिवार धान्न भारत पुगे। आफ्नो मेहनत र इमान्दारिका कारण सबैको माया पाए। दैवको कृपा उनले कहिल्यै कसैको हेपाइ र कटु शब्दको प्रहार सहनु परेन। घुम्दै फिर्दै उनी एक पन्जाबीको घरमा पुगे। त्यो सरदारजीलाई आफ्नो कर्म दिने बाबु भनी सम्मान गर्छन् उनी। उनका मालिक कन्टिनेन्टल कन्स्ट्रक्सन क्रप लिमिटेड, दिल्लीका चेयरमेन सोकन सिंह बासी हुन्। बासीले उनलाई गरेको मद्दतको प्रशंसा गरेर थाक्दैनन्। सरदारजीको उल्लेख गर्दा उनमा छुट्टै किसिमको ऊर्जा सञ्चार भएको थियो।
सरदारजी कहाँ डेढ वर्ष काम गरेपछि सरदारजीले उनलाई आफ्नो लिबियास्थित प्रोजेक्ट साइटमा काम गर्न पठाउने निधो गरे। त्यसको लागि उनको पासपोर्ट चाहियो। २०३५/३६ सालमा पनि पासपोर्ट बनाउन अहिलेजस्तै झमेला रहेछ। सिंहदरबार नै धाउनु पर्ने। उनी अर्घाखाँची पुगेर नागरिकता बनाए र काठमाडौँका लागि हिँडे। अर्घाखाँचीबाट काठमाडौँ आउन गुल्मी, पाल्पा हुँदै पोखरा पुग्नु पर्ने। त्यहाँबाट फेरी गाडी चढेर त्यसपछि मात्रै काठमाडौँ।
उनले आफ्नो पहिलो काठमाडौँ यात्रा सुनाए, 'काठमाडौँमा चिनेजानेको कोई नाइँ। दिल्लीमा साथीभाइबाट काठमाडौँको होटेल केकीको नाम सुनेको थिएँ। कालो ट्याम्पु चढेर केकी होटल पुगेँ। एक रात त्यहाँ बिताएपछि भोलिपल्ट बिहानै सिंहदरबार परराष्ट्र मन्त्रालय पुगेँ। फारम लिएर आफूले जाने सम्म भरेँ।' उनी हाँस्दै भन्छन्, 'फारम त भरेँ। समस्या पर्‍यो अधिकृतको सिफारिसको। मैले कोही चिनेको नाइँ। म के गर्ने भनेर सोच्दै थिएँ। भगवानले फेरि साथ दिए। कहाँबाट एकजना भतिजो पर्ने भेट भो। ऊ रेडियोमा काम गर्दो रहेछ। उसले बाँकी काम गराइदियो।' उनको फारमको सबै काम त सकियो। तर, पासपोर्ट बन्न निकै नै समय लाग्ने रहेछ। कम्तिमा पनि ४५ दिन लाग्ने रे। धेरैमा छ महिना र कुनै कुनै केसमा त वर्ष दिन पनि। अर्घाखाँचीमा सबै सोधपुछ गर्नु पर्ने। त्यहाँबाट उजुर बाजुर नआएमात्र पासपोर्ट बन्ने। उनलाई आपत पर्‍यो। त्यत्रो दिन काठमाडौँ बस्ने कुरा पनि आएन। के गर्ने, गर्ने? उनी कसरी छिटो बनाउने भनेर सोचिरहेका थिए।
पुलिस रिपोर्ट जति चाँडै आयो त्यति चाँडै काम हुने पत्तो पाएपछि, उनले त्यहीँ ड्युटी गरिरहेका पुलिससँग गफ गर्न थाले। उनलाई त्यो पुलिसको पद के हो? भन्ने त हेक्का भएन। न नाम नै रह्यो सम्झनामा। तर, आफ्नो कुरा राखिसकेपछि पुलिसले उनलाई मद्दत गर्ने भए। बेलुका ५ बजेपछि पुलिसको ड्युटी सकियो। पुलिसले उनलाई आफ्नो कोठामा लिएर गए। खानपिन भयो। त्यसपछि पुलिसले एक्कासी मुख फोरेे, 'म तपाईँको काम सक्दो छिटो गरिदिन्छु। तपाईँले पनि मेरो एउटा काम गर्नुपर्छ।' यो सुनेपछि उनी एकैछिन अकमकिए। तर, आफ्नो काम हुनेभए सकेको गर्छु भनि वाचा गरेछन्। पुलिसले भनेछ, 'तपाईँ पासपोर्ट लिन आउँदा मलाई एउटा हकिन्सको प्रेसर कुकर ल्याइदिनुपर्छ।' उनले पनि केही नसोची हुन्छ भनिदिए।
उनी हाँस्दै भन्छन्, 'मैले हुन्छ त भनेँ। त्यो भर्खर बजारमा आएको कुकरको चौबिस सय भारु पर्थ्यो। भारतमै पनि कमै देखिन्थ्यो। मालिकले जसरी पनि पासपोर्ट बनाउनु भनेका थिए, त्यसैले आँट आयो।' 
००००
बिहान पुलिसलाई आफ्नो दिल्लीको फोन नम्बर र ठेगाना टिपाएर, उनी दिल्लीका लागि हिँडे। दिल्ली पुगेर सबै कुरा मालिकलाई भने। मालिकले पनि, 'काम हुने भए ठिकै छ, दिए भइ हाल्यो नि भनेछन्।' नभन्दै ४५ दिनमै उनको पासपोर्ट बन्यो। पुलिसले आवा पठायो। त्यो आवा आएको दिन मालिकले घरका सबैलाई लड्डु बाँड्न लगाएको उनी सम्भि्कन्छन्। उनी भन्छन्, 'म भन्दा पनि मालिक धेरै खुशी थिए। उनले भोलि नै काठमाडौँ गएर पासपोर्ट लिएर आइज भनेर अर्‍हाए। भोलि आफूले बिर्से पनि सम्भि्कएर मसँग पैसा माग्नु भने।'
सोझा रामप्रसादलाई मालिकसँग पैसा माग्ने आँटै आएन। अफिसका लागि हिँडिसकेका मालिकले धन्न आफैँ सम्भि्कएछन्। उनी फेरि घर फर्किए र रामप्रसादलाई गाली गर्दै कसैलाई नभन्नु भनेर पचास हजार रुपैयाँ थमाइदिए। त्यसपछि हकिन्सको कुकर बोकेर उनी काठमाडौँ हिँडे। पोखरामा रात बिताउँदा होटेलका थकाली साउले 'कुकर मलाई दे, भनेको पैसा दिन्छु' भनेर हैरान पारेछन्। उनलाई इति-वृतान्त नै सुनाउनु परेछ। 
काठमाडौँ छिर्नासाथ पुलिसको डेरा बागबजार पुगे। पुलिस त सरुवा भएर झिटिगुन्टा कसेर सुर्खेत हिँडिसकेका रहेछन्। त्यसपछि सिंहदरबार पुगेर पासपोर्ट लिए। एक रात फेरि होटल केकीमा बिताएर उनी पोखरा फर्किए। उनी मुर्छा पर्ने गरेर फुक्लिन लागेको दाँत हल्लाउँदै हाँस्छन्, 'पोखरा फर्किँदा पनि कुकर त मेरो साथमै छ। त्यसपछि त थकालीले ज्यान जाला छोडेन। बोली लगाउँदा लगाउँदा सात हजार पुर्‍यायो। अनि खानबस्न पनि फ्रि। ल मर, भनेर दिएँ त्यसैलाई।'
रामप्रसाद फर्केर दिल्ली पुग्दा उनको मालिक वगैँचामा नास्ता गर्दै थिए। त्यहीँ बसेर पासपोर्ट हेर्ने बित्तिकै अफिसमा फोन गरेर उनको नाम लिबिया जान टिपाए। अर्को हप्ता लिबिया पठाउने व्यवस्था गर्न उर्दी जारी गरे। अब रामप्रसादलाई पर्‍यो फसाद। एकातिर मालिकले व्यवस्था मिलाउन भनिसके। त्यहि बेला श्रीमती दुई जिउकी। उनले बच्चा भएपछि जान्छु भन्दा मालिकले मानेनन्, 'यो मेरो पनि छोरी जस्तो हो। यसको जिम्मा मेरो भयो। तँ जा!' भनेछन्। त्यसपछि उनी हप्ता दिनमै लिबिया पुगे।
००००

लिबियामा उनको काम कम्पनीको गेस्ट हाउसमा सबै रेखदेख गर्ने थियो। त्यहाँ आउने गेस्टको खाने बस्नेदेखि यावत सबै उनको जिम्मामा थियो। उनी त्यहाँ पाँच वर्ष बसे। पाँच वर्ष बसुन्जेल उनको काममा कसैले कहिल्यै खोट लगाएनन्। वर्ष-वर्ष दिनमा पासपोर्ट रिन्यू गर्नु पर्थ्यो। त्यो सबै कम्पनीले नै गरिदिन्थ्यो। मालिकको आफ्नो मान्छे भएकोले। पाँच वर्षपछि पासपोर्ट नै अर्को बनाउनु पर्ने भयो। नियम नै त्यही थियो। त्यसमाथि लिबियामा पाँच वर्षभन्दा बढी बसेर काम गर्न पनि नपाइने। उनी पाँच वर्ष लिबिया बसेर भारत फर्किए।
भारत फर्किएको केही समयपछि उनको कम्पनीलाई इराकमा ठूलो प्रोजेक्ट मिल्यो। उनको काम देखि निकै खुसी भएका सरदारजीले उनलाई फेरि इराक पठाउने भए। इराक जान फेरि पासपोर्ट चाहियो। नयाँ पासपोर्ट लिन उनी भारतस्थित दुतावास पुगे। दुतावासले इराक जान पासपोर्ट दिन नमिल्ने बतायो। त्यसपछि अनेक तिकडम लगाएर उनले भारतीय पासपोर्ट बनाए। उनले भारतका ठूलाबडा नेतादेखि व्यापारीसम्म धेरैलाई आफ्नो हातले पकाएर खुवाएका थिए। तीमध्ये अहिले उनी सोनिया गान्धीको नाम मात्र सम्भि्कन्छन्। सरदारजीलाई भन्दै नभनी, उनकोे साथीलाई गुहार्न पुगे। मालिकको साथीले एक बोतल रक्सी खुवाउने शर्तमा उनलाई पासपोर्ट बनाउन सहिछाप गरिदिए। उनी आफ्नो लडिकापन सम्झँदै भन्छन्, 'उनले त मलाई जिस्काएका रहेछन्। सरदारजीहरूलाई हँसीमजाक गरिरहनु पर्ने। मैले त साँच्चिकै ब्ल्याक लेबल लगिदिएँ। तै रिसाएनन्!' उनलाई सहिछाप गर्ने व्यक्ति त्यतिबेला पन्जाबका मन्त्री थिए। पासपोर्ट बनेपछि फेरि मालिकलाई लगेर बुझाए। मालिक पनि दंग परेर उनलाई इराक पठाउन हौसिए र उनी फेरि खाडी मुलुकमा काम गर्न पुगे।
खाडी मुलुक भएपनि मालिकको नजिक भएकोले उनलाई कहिल्यै दुःख परेन। उनले पनि कहिल्यै मेहनत गर्न छाडेनन्। उनी छाति फुलाउँदै भन्छन्, 'त्यो कम्पनीमा २८ वर्ष काम गर्दा एक दिन पनि अब्सेन्ट नभएकोले म पुरस्कृत भएको थिएँ। मेरो फोटोसहितको अवार्ड कम्पनीको मुख्य कार्यालयमा टाँगिएको थियो।' उनी इराकमा पनि सबै हाकिमकावीच लोकप्रिय भए। गेस्ट हाउसमा मात्रै काम गर्ने हुँदा प्रायः सबै ठूला हाकिमसँग उनको चिनजान थियो। सबैले उनलाई माया गर्थे। उनी सबैलाई सम्मान गर्थे। इराकमा लगभग पाँच वर्ष बसेपछि कम्पनिको प्रोजेक्ट सकिन आँटेको थियो। कम्पनिले त्यसैको उपलक्ष्यमा ठूलो रात्री भोजको आयोजना गरेको थियो।
कहीँ कतै खाना पकाउने औपचारिक शिक्षा नलिएका रामप्रसाद एउटा भान्छाबाट अर्को भान्छा गर्दागर्दै खाना पकाउन निपूण भइसकेका थिए। त्यसैले पार्टीको सबै खानाको जिम्मा मालिकले बडो विश्वासका साथ उनैलाई सुम्पिए। पार्टीमा सद्दाम हुसेन पनि आउने कुरा थियो। तर, उनी लास्ट आवरमा आएनन् रे। उनका सहयोगी अधिकारीले केही खाना प्याक गर्न लगाएछन् सद्दामका लागि। त्यो खाना सद्दामको दरबार पुग्यो र सद्दामले पनि चाखे। त्यसपछि रामप्रसाद पोखरेललाई सद्दामको दरबारबाट बोलावट आयो।
उनी त्यतिबेलाको अत्यास अहिले पोख्दै यसो भन्छन्, 'लिबियामा बस्दा मृत्युदण्ड दिएको देखेको थिएँ। बजारमा सबैको अगाडि गोली हानेर मार्ने। कहाँ सद्दामको दरबारमा खाना बनाउन जाने? त्यसमाथि सद्दामको क्रुरता सुनेकै हो। म त जाँदै जान्नँ। भोलि केही गरेर खाना मन नपरेर मार भन्यो भने, मेरो बालबच्चाको बिचल्ली हुनेमात्र सम्झना आयो।' उनले केही दिन त यसैउसै गरेर टारेछन्। तर, उनलाई सद्दामले खोजेको खोज्यै। त्यसपछि अति नै भएर चेयरम्यानले आफैँले फोन गरेर उनलाई सम्झाएपछि उनी जान तयार भए।
सद्दामको दरबारमा उनको काम उनका श्रीमतीहरूलाई उनले पार्टीमा बनाएको खाना बनाउन सिकाउनु थियो। त्यसपछि मात्र उनको त्यहाँबाट छुट्टी हुन्थ्यो। उनलाई एक दिन दिउँसो कम्पनीको गाडीले सद्दामको दरबारअगाडि लगेर छोड्यो। त्यसपछि उनलाई गार्डहरूले सिधै किचनमा लगे। किचनमा केही आइमाईहरू उनको प्रतीक्षामा थिए। लिबिया र इराकको बसाइले उनलाई अंग्रेजी राम्रो बोल्न आउँथ्यो भने अलिअलि अरबी पनि बोल्थे।
रामप्रसादले क्रमैसँग ती आइमाइहरूलाई बालुसाई, नम्किन, मटन बिरयानी र रसवरी बनाउन सिकाए। उनी ती आइमाईहरूको छिटोछिटो सिक्ने दिमागबाट प्रभावित भएको बताउँछन्। उनले भने, 'म पहिला बनाउँथे र त्यही हेरेको भरमै उनीहरूले पनि बनाउँथे। उनीहरूले परिकार बनाउन यति चाँडै टिपे, म ढुक्क भएँ।' उनी गौरव गर्छन्। उनले थपे, 'सबै बनाएर सकेको मात्र थिएँ। कहाँबाट सद्दामले चारवटा माछा लिएर आए र माछा पनि बनाउन अर्‍हाए। त्यसपछि स्वीट पनि चाहिने बताएर पठाए। मैले माछा र स्वीट पनि बनाएँ। त्यो स्वीट मैले दिल्ली छोडेपछि अहिलेसम्म बनाएको छैन। त्यति धेरै सर-सामान चाहिन्छ त्यो स्वीट बनाउन।'
सबै पकवान रेडी भएपछि सद्दाम खाना खान आए। सद्दामले छेउमा उभिएका रामप्रसादलाई पनि परिवारसँगै बसेर खाना खान आग्रह गरे। उनी भन्छन्, 'नाइँ भन्ने कुरा आएन। खान मन थिएन। उनीहरू खान बसेपछि जुठो चोखो मतलब हुन्न। तैपनि बसेँ। मरता क्या नहीँ करता!' उनी फेरि खुलेर हाँस्छन्। खाइसकेपछि सद्दामले धाप मारेर हात मिलाउँदै भने, 'धन्यवाद! भोलि बिहान बे्रकफास्ट के खुवाउँछौ? इन्डियनहरूले के खान्छन्?' त्यसपछि उनले, 'आलु पराठा' भने।
रात उनले डाइनिङ हलमै बिताए। उनी भन्छन्, 'त्यो डाइनिङ हलको कार्पेट नै यति मोटो थियो कि, हाम्रो डनलप जस्तो। त्यसैले त्यहीँ सुत्छु भनेँ। उनीहरूले पनि नाइँनास्ती गरेनन्। रातभरी निद्रा लागेन। कतिखेर बिहान होला र फुत्किउँला जस्तो भयो। बिहानै उठेर रेडी भएँ। तिन चार थरीको पराठा बनाउन सिकाएँ। सद्दाम कता कता घुमेर आए र ब्रेकफास्ट खाए। त्यसपछि फेरि धन्यवाद दिए र मलाई छोड्न गाडी पठाउन भने। उनीहरूले नराम्रो केही गरेनन्। तर, मलाई कम्पनि नफर्किउन्जेल खुब डर लाग्यो। धेरै मन परेर त्यतै राख्लान् भन्ने डर। मन परेन भने मार्लान भन्ने डर।'
उनी अहिले सद्दाम कहाँ बिताएका २४ घन्टा सम्भि्कँदै भन्छन्, 'मेरो लागि सद्दाम नराम्रो मान्छे थिएनन्। उनीसँग भेट्दा त्यस्तो लागेन। अमेरिकाले मृत्युदण्ड दिएको टिभीमा देखाउँदा मैले हेर्नै सकिँन त्यो दृश्य। मेरो आँखा अनायासै रसाए।' - नागरिक 

No comments:

Post a Comment