काठमाडौं,
अमरेशकुमार सिंहले जेठ १४ गतेभित्रै सुशील कोइरालाको नेतृत्वमा सरकार गठन हुने घोषणा गर्नुभएको छ। भारतको राजधानी नयाँदिल्लामा ६ वर्षअघि सात राजनीतिक दल र माओवादीबीच सम्झौता गराउने क्रममा विशेष भूमिका निर्वाह गर्नुभएका अमरेशकुमार सिंह नेपाली काङ्गे्रसका सशक्त युवा नेता हुनुहुन्छ। शान्तिप्रक्रिया टुङ्ग्याएर आगामी जेठ १४ भित्रै
संविधान जारी गराउन क्रियाशील सिंह निर्धारित समयभित्र संविधान जारी हुनेमा पूर्ण विश्वस्त हुनुहुन्छ। घटना र विचारसँग गत शनिबार कुरा गर्दै अमरेशले भन्नुभयो, आगामी जेठ १४ भित्रै संविधान जारी भइसक्छ, म ढुक्क छु।' उहाँले अगाडि भन्नुभयो, 'बाबुरामपछिको प्रधानमन्त्री सुशील कोइराला नै बन्नुहुनेछ, त्यो पनि जेठ १४ अगाडि नै।' चुनावी सरकारका प्रधानमन्त्री सुशील कोइराला बन्नुहुने ठोकुवा गर्दै सिंहले भन्नुभयो, 'आगामी चैत–वैशाखसम्ममा यो मुलुकमा चुनाव पनि सम्पन्न भइसकेको हुनेछ, यसमा कुनै द्विविधा छैन।' प्रधानमन्त्री पदमा डा. बाबुराम भट्टराई हुनुहुन्छ तर देशचाहिँ अमरेशकुमारले चलाउनुहुन्छ भनेर कतिपयले भन्ने गरेको सुनिन्छ, यो सही हो कि के हो? भन्ने प्रश्नमा सिंहले भन्नुभयो, 'होइन, यो कुरामा कुनै सत्यता छैन। अमरेशकुमार सिंहको कमिटमेन्ट
शान्ति र संविधानका प्रति हो। बाह्रबुँदेदेखि नै हामी संलग्न रहँदै आएका छौँ। अब शान्ति र संविधान निर्माणको विषय टुङ्गो लगाउन ढिला भइसकेको छ, म त्यसनिम्ति समर्पित भएर लागिरहेको छु। तर, देश त बाबुरामजीले नै चलाइरहनुभएको छ।'
देशका प्रधानमन्त्रीले ढुक्कसँग भन्न नसक्ने कुरा तपाईं भनिरहनुभएको छ, अनि तपाईंले नै देश चलाउनुभएजस्तो देखिँदैन त?
प्रधानमन्त्रीको दश थरीको लोभलालच या बाध्यता हुनसक्छ। आफ्नो सत्ता जाला, पार्टीले के भन्ला भनेर जाने–बुझेको कुरा पनि स्पष्टसँग बोल्न नसकिरहेको हुनसक्छ। तर, म जनता र देशप्रति इमानदार र प्रतिबद्ध छु, जनतालाई सही सत्य कुरा दिनुपर्छ भन्ने मान्यता राख्छु, ढाँट्नु हुँदैन जनतालाई भन्ने मान्यतामा रहेर म बोलिरहेको छु।
No comments:
Post a Comment