Monday 23 April 2012

साउदीमा नेपाली कामदारलाई कम्तीमा २२ हजार तलब

विज्ञान अधिकारी, काठमाडौं,
वैशाख १२- नेपाली दूतावासको सिफारिसमा साउदी अरबमा काम गर्न जाने नेपाली कामदारको न्यूनतम तलब २२ हजार बनाउन सरकारले तयारी सुरु गरेको छ। कम तलबमा विदेश जाने कामदारले जाँदा लागेको खर्च तिर्न नसक्ने अवस्था आएपछि सरकारले
यस्तो व्यवस्था गर्न लागेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यसबारे सरोकारवाला व्यवसायीहरुसँग आइतबार छलफल गरेको थियो। व्यवसायीहरु भने तलव बढाउँदा समस्या आउने बताउँछन्। 
साउदीस्थित नेपाली दूतावासले कामदारको न्यूनतम तलब एक हजार रियाल पुर्‍याउन प्रस्ताव गरेपछि मन्त्रालयले सबै सरोकारवालालाई डाकेर छलफल गरेको हो। मंगलबार पनि थप छलफल गरिदैंछ। 
'साउदी जाने कामदारको तलब एक हजार रियाल गर्ने भएका छौं,' वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले सोमबार नागरिकसँग भने, 'एक हजार रियाल तलब नभए कामदारले ऋण तिर्न समेत सक्ने अवस्था छैन।' 
सरकारले अहिले ६ सय रियाल तलव र खाना खाने व्यवस्था भए श्रम स्विकृती दिँदै आएको छ। अन्य मुलुकका लागि न्यूनतम १ सय २५ डलर (१० हजार ३ सय ७५) मा श्रम स्विकृती दिने गरिएको छ। 
'म्यानपावर एजेन्सीले अनावश्यक प्रतिस्पर्धा गरेर न्यून तलबमा कामदार पठाइरहेका छन्। त्यसले यहाँ आएका कामदारमा निरासा छाएको छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, 'न्यूनतम तलब एक हजार बनाउन सकिएन भने कामदार भाग्ने क्रम रोकिदैन।' 
उनका अनुसार तलब कम भएकाले पहिलो आएको कम्पनीबाट भागेर अर्कोमा सर्ने प्रवृति बढेको छ। 'कम तलबकै कारण नेपाली भागेर अवैध बस्ने क्रम बढेको छ। यसले नेपालीकै साख बिग्रिएको छ,' पाण्डेले भने। उनले यहाँ रहेका रोजगारदाताहरुले न्यूनतम तलब एक हजार दिइरहेको जानकारी दिए। उनका अनुसार ३६ वटा विभिन्न पेसामा जाने कामदारको न्यूनतम तलब तोकेरै प्रस्ताव गरिएको छ।
'न्यूनतम तलब एक हजारदेखि एघार हजार रियालसम्म तोकेर पठाएका छौ,' पाण्डेले भने, 'चिकित्सक, इन्जिनियर लगायतका दक्ष कामदारको तलब साढे दुई लाखसम्म हुनेछ।' सरकारको तलब बढाउने प्रयासको वैदेशिक रोजगार व्यवसायीले विरोध गरेका छन्। आइतबारको छलफलमै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले असहमति जनाउँदै तलब बढाउँदा कामदार पठाउन कठिन हुने बताएका थिए। साउदीको तलब बढाउने तयारी गरेपछि संघको सोमबार कार्यसमिति बैठक बसेको थियो। बैठकले खुल्ला बजारमा नेपालले मात्रै एकतर्फी तलब बढाउँदा कामदार पठाउनै नसक्ने निर्ष्कष निकालेको छ।
'हामीले एकतर्फी रुपमा तलब बढाउँदा कामदार पठाउन सकिदैन,' संघका द्धितिय उपाध्यक्ष कुमुद खनालले भने, 'तलब बढ्यो भने अरु मुलुकका कामदार बढ्छन् हाम्रा घट्ने छन्।' अहिले साउदीमा फिलिपिन्स, इन्डोनेसिया, श्रीलका लगायत मुलुकका कामदार गइरहेका छन्। 
'यो निर्णयसँगै रोजगारदाताले नेपाल छाडेर अरु मुलुकबाट कामदार लिन सक्छन्,' उनले भने, 'सरकारले हचुवाको भरमा कामदारको हित भन्दै अनावश्यक निर्णय गर्न खोज्दैछ।' 
राजदूत पाण्डे भने रोजगारदाताले न्यूनतम एक हजार रियल दिन थालिसकेको बताउँछन्। 'हामीले रोजगारदाता र यहाँको सरकारी निकायसँग छलफल गरेर तलब प्रस्ताव गरेका हौ,' उनले भने, 'रोजगारदाताले हामीले प्रस्ताव गरेको तलब दिन राजी छन्।' उनले पछिल्लो समयमा दूतावासले न्यूनतम ८ सय र २ सय रियाल खाना गरी एक हजार नभएको मागलाई अस्विकार गरेको बताए। 
'दूतावासले यहाँ प्रमाणिकरणमा आउने मागलाई न्यूनतम एक हजार तोकिसकेको छ,' पाण्डेले भने, 'यो कार्यान्वयन गर्न र कामदार जान कुनै समस्या हुँदैन।'

-नगरिक 

No comments:

Post a Comment