Tuesday, 17 April 2012

कमल थापाले साधे- हात्तीवनको बन्द कोठामा बस्नुको अर्थ के हो?

ध्रुव दंगाल, सिन्धुपाल्चोक, वैशाख ५-
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले हात्तीवनमा गोप्य बैठक गर्दैमा संविधान नबन्ने ठोकुवा गरेका छन्। संविधान सभामा बसेर पारदर्शी ढंगमा संविधान निर्माणमा जुट्न उनले दलका नेतालाई चेतावनीसमेत दिए। 


हिमालयन अन्तर सांस्कृतिक संघको मुखपत्र जूनकीरीको लोकार्पण गर्दै उनले मंगलबार चौतारामा भने, 'संविधान बनाउने संविधान सभा नपाउँदा सुतेर बसेको छ। सभासद् नै नेताको घरमा धर्ना दिइरहेका छन्। बन्द कोठामा बस्नुको अर्थ के हो?'
उनले हात्तीवन बैठक 'रिमोट कन्ट्रोल'द्वारा निर्देशित संविधानलाई मान्यता दिने षड्यन्त्र भएको आरोप पनि लगाए। संविधान बनाउने नाममा यथास्थितिलाई संस्थागत गर्ने प्रपञ्चमा दलहरु लागेको बताउँदै थापाले भने, 'तरबार र घीउ बेचुवाहरु लेनदेन, सम्झौता र भागवण्डाको संविधान ल्याउँदैछन्।'
चार वर्षमा हुने नसकेको काम अबको ४१ दिनमा हुन नसक्ने भन्दै उनले जेठ १४ मै जारी हुने नेताहरुको दाबीले रिमोट कन्ट्रोलद्वारा निर्देशित संविधान ल्याउन खोजिएको आशंकालाई थप बलियो बनाउँदै लगेको बताए। 'पात्र उही, प्रवृत्ति त्यही हो। अडान कायमै छन्। अब जनताले जाहेजस्तो संविधान कसरी आउँछ?' उनले प्रश्न गरे। म्याद थप नहुने सर्वोच्चको निर्णयपछि जेठ १४ पछि संविधानसभा नभनि व्यवस्थापिका संसदको नाममा दलहरु अझै दुई, चार-वर्ष ठगेर खाने दाउमा दलहरु रहेको उनको भनाइ थियो।
एम्बुसमा पारेर षड्यन्त्रमूलक ढंगमा फालिएकाले राजतन्त्र फर्केरै छाड्ने थापाले जिकीर गरे। 'देशको विद्यमान राजनीतिक अवस्थाले पनि वातावरण बनाइदिँदैछ। भू-राजनीतिक अवस्थाको माग पनि त्यही छ। समय भन्न सकिन्न तर, राजतन्त्र निश्चितरुपमा फर्कन्छ', उनले तर्क गरे। एचडीमूनीको राजतन्त्र फर्कन सक्ने सम्भावना छैन भन्ने भनाइको खण्डन गर्दै उनले 'एचडीमूनी नामको विदेशी फन्टुस कुनै ज्योतिषी नभएको' प्रतिक्रिया दिए।

No comments:

Post a Comment